कमरेड प्रचण्डलाई ‘अयोग्य’को चिठी


२३ श्रावण २०७९, सोमबार
Rajesh rai scaled

कमरेड प्रचण्ड,
१२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगेँ
भागेर आएको होइन म फर्काइएको हुँ
अयोग्य जँचेर फालिएको हुँ

म गोविन्द राई अर्थात् ‘गोविन्दे’
कमरेड ‘शिखर’ भएर
आजभन्दा ९ बर्ष ३ महिना १० दिन अघि
मुक्तिका लागि होमिएको थिएँ युद्धमा
मैले न माक्र्स सुनेको थिएँ
न माओ चिनेको थिएँ
न चिनियाँ क्रान्तिको कथा नै जान्दथेँ
न जान्दथेँ पेरिस कम्युनको गाथा नै

केवल आफ्ना जिन्दगीका दुःखसँग परिचित थिएँ म
आमाका पट्पटी फुटेका पाइतालाका साक्षी थिएँ
र औषधी नपाएर दमले थलिएका बाका पीडा राम्ररी जान्दथेँ

थिएन कुनै आक्रोश यो राज्यसत्तासँग
थिएन कुनै प्रतिशोध वर्गशत्रुसँग

कानुनका कुनै धारासँग असहमति पनि थिएन मेरो
केवल आक्रोश थियो सिमल पाखाको साहुजीसँग
जो ऋण तिर्न नसकेकोमा मेरा बालाई अपमान गरिरहन्थ्यो
प्रतिशोध त आफ्नै नीरिहतासँग थियो
जसले मलाई एक पल पनि हाँस्न दिएको थिएन

असहमति थियो त ब्याजको स्याज बनाएर हाम्रो झुपडी उखेल्ने
उही सिमल पाखाको साहुजीसँग

हो कमरेड,
जिन्दगीका यिनै बाध्यताले अत्तालिएर
म गोविन्दे
कमरेड ‘शिखर’ भएर

जनयुद्धमा हेलिएको थिएँ

कमरेड शिखर पछि पुनः म गोविन्दे मात्रै भएर
२०६७ भाद्र १३ गते ९ बर्ष ३ महिना १० दिनपछि
रित्तो हात घर फर्किएको छु
मसँग गाउँलेलाई सुनाउन उत्साहको कुनै समाचार छैन
न आमाका लागि छ केही कोसेली
आईपुगेको छु निधारमा ‘अयोग्य’को पहिचान बोकेर

मेरी आमाका दुःख ज्युँका त्युँ रहेछन्
दमले थलिएका बा बितेछन्
तर सिमल पाखाको साहुजीको शान भने आजपनि उस्तै रहेछ

मेलै ९ बर्ष ३ महिना १० दिन लडेर
बस् अयोग्यको प्रमाणपत्र पाएको छु
र मेरी निर्दोष आमा अयोग्यकी आमा भएकी छिन्
गाउँभरि ‘अयोग्य गोविन्दे’ फर्किएको हल्ला छ
यही अयोग्य हुनुको अपमानले जलिरहेको छु म
यही बदनामले मरणासन्न छु

कमरेड तपाई प्रचण्डबाट पुष्पकमल बन्नुभएको छ
तपाईका सपना र चाहना फेरिएका छन्
तपाईंका सँगत र सम्बन्ध फेरिएका छन्
तपाईंका आवश्यकता बदलिएका छन्
तर मेरा आवश्यकता उही छन्
मारिएका छन् मेरा सारा सपना

यसबेला म अन्योलमा छु
मेरो ९ बर्ष ३ महिना १० दिन
र हत्या गरिएका सपनाका
हिसाब किताब
म कोसँग मागूँ
यो राज्यसत्तासँग कि
तपाइसँग ?

२०७६ माघ काठमाडौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७