सातै प्रदेशमा वर्षा, दुई प्रदेशमा ठूलो पानी पर्ने सम्भावना


२४ श्रावण २०७९, मंगलवार
rain

काठमाडौं । देशका विभिन्न स्थानमा आज (मंगलबार) पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७