देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको कदर हुनुपर्छ : सांसद पाण्डे


२४ श्रावण २०७९, मंगलवार
som prasad pandey

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेले आफ्नो पार्टीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्यांकन गरेर आउँदो निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

आज (मंगलबार) संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सिट बाँडफाँट गर्दा वर्तमान सरकार गठनका लागि आफूहरुले खेलेको भूमिकाको कदर गरिनु पर्ने बताएका हुन् । एकीकृत समाजवादीले सहयोग नगरेको भए देउवा प्रधानमन्त्री बन्न सक्ने स्थिति नै नरहेको पनि सांसद पाण्डेले बताएका छन् । ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ । गठबन्धनलाई यहाँसम्म पुर्‍याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ’ उनले भने ।

सिट बाँडफाँटमा सुरुमा वादविवाद भए पनि सहमति जुट्ने पनि सांसद पाण्डेले बताएका छन् । ‘आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यकतालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौं, गठबन्धनभित्र रहेका दलमा आपसी समझदारी हुन्छ’ उनले भने, ‘सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था पनि रहँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७