परराष्ट्रमन्त्री खड्का चीनमा, आजै समकक्षी वाङसँग भेटवार्ता


२५ श्रावण २०७९, बुधबार
khadka wang8 GqU1OCvYRM

काठमाडौँ । औपचारिक भ्रमणका का लागि गए राति (मंगलबार) चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार बिहान साङदोङ प्रान्तको छङ्दाओ शहर पुगेका छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियाँ विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री आइपुगेको र आज चीनका समकक्षी मन्त्रीसँग औपचारिक वार्ता हुने राजदूत श्रेष्ठले जानकारी गराएका छन् । यो बाहेक अरु भेटवार्ताको कार्यक्रम नभएको उनले जनाएका छन् । समकक्षी एवं चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको चार्टर उडानबाट साङदोङ प्रान्तको छङ्दाओ शहर पुगेका हुन् ।

खड्काको टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहभागी छन् । टोलीमा गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् । बेइजिङबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ छङ्दाओ पुगिसकेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि नेपाल सरकारबाट पहिलोपटक चीनको औपचारिक भ्रमण भएको हो । वाङले गत २ कात्तिकको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार खड्काको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको थियो । औपचारिक भेटवार्ता सकेर बिहीबार उनी स्वदेश फर्किने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७