सम्बन्धमा सकस : खोटाङमा एक वर्षमै १३८ दम्पतीको सम्बन्धविच्छेद


२५ श्रावण २०७९, बुधबार
devorce

खोटाङ । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका १८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका १८४ मुद्दामध्ये १३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको संख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए । ‘आव २०७७/७८ मा ७० मुद्दा दर्ता भएको थियो’, उनले भने, ‘जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।’

१० स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ । जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू-ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ ।

मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको संख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताए । ‘कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको देखिएको छ’, उनले भने, ‘आफूखुसी विवाह गरेका २० वर्ष उमेर समूहका तथा मागी विवाह गरेर ४५ वर्षसम्म श्रीमान/श्रीमती मिलेरसँगै जीवन बिताएका जोडीहरू समेत सम्बन्धविच्छेद गर्न अदालत आउने गरेका छन् ।’

पछिल्लो समय कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै गएको अधिवक्ता कुवीरकाजी राईले बताए । ‘केही जोडीहरू युरोपियन मुलुक जानका लागि सहमतिमै सम्बन्धविच्छेद गर्छन् । तर उनीहरुको आपसी सम्बन्ध बिग्रिएको हुन्न’, उनले भने, ‘श्रीमान/श्रीमती दुवैले हामी सम्बन्धविच्छेद गर्न तयार छौँ भनेपछि सहयोग गर्नुपर्‍यो ! तर, उनीहरुले कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गरेका हुन्छन् ।’

यसैबीच जिल्ला अदालत खोटाङमा गत आव २०७८/७९ मा विभिन्न शीर्षकमा तीन सय १९ मुद्दा दर्ता भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको एक सय २९ गरी चार सय ४८ मुद्दा हेरिएकामा दुई सय ६९ मुद्दा फछ्र्योट भएको छ भने एक सय ७९ मुद्दा आव २०७९/८० का लागि जिम्मेवारी सारिएको छ ।

सम्बन्धविच्छेदमा एक सय ८४, अंशवण्डामा ३६, अपुतालीसम्बन्धी एक, जग्गासम्बन्धी दुई, लेनदेनसम्बन्धी १६, लिखत बदरसम्बन्धी १३, मानाचामलसम्बन्धी ११, भूमिसम्बन्धी एक मुद्दा दर्ता भएका छन् । यस्तै राज्यविरुद्धको कसुर एक, हातहतियार तथा खरखजना १४, बहुविवाह सात, बालविवाह एक, कर्तव्य ज्यान १३, ज्यान मार्ने उद्योग १२, आत्महत्या दुरुत्साहन एक, जबरजस्ती करणी १६, हाडनाता करणी ११, जबरजस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोगसम्बन्धी आठ मुद्दा परेका छन् ।

चोरी तथा डाका कसुरमा २३, ठगी दुई, आपराधिक प्रवेश चार, पशुपक्षीसम्बन्धी कसुर पाँच, नागरिकता कसुर एक, लागुऔषधसम्बन्धी कसुर चार, सवारी ज्यान वा अङ्गभङ्ग १६, कुटपिट वा अङ्गभङ्ग, जालसाजी पाँच, लुटपाट एक, गाली बेइज्जतीसम्बन्धी कसुर १६ र चेक अनादरसम्बन्धी चार वटा मुद्दा जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । आव २०७८/७९ मा अदालतमा दर्ता भएका ६० प्रतिशत मुद्दा फछ्र्योट भएको श्रेस्तेदार यादवले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७