महावीर पुनको आविष्कार केन्द्रले बनायोे ‘मेडिकल ड्रोन’, दुर्गम क्षेत्रमा औषधि पठाउन सहज हुने (भिडियोसहित)
म्याग्दी, २० चैत्र । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले ‘मेडिकल ड्रोन’ निर्माण गरेको छ । निर्माण गरिएको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ जिल्लाको दुर्गम क्षेत्रको स्वस्थय संस्थामा औषधि ढुवानी गर्न सहज हुने भएको छ ।
जहाजजस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको अध्यक्ष पुनले बताए । ड्रोनले दुर्गम क्षेत्रमा महामारी फैलिए दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा रहेको छ ।
पुनले अप्रिलको पहिलो–दोस्रो साता म्याग्दीको दुर्गम गाउँबाट परीक्षण गरिने उनले बताए । उनले भने, ‘नेपालका अति दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा नियमित औषधि ढुवानी, विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरणसहितका मेडिकल सामग्री पुर्याउन सकिन्छ ।’
उनले स्वास्थ्य मन्त्रालयसँग एक प्रकारको सम्झौतासमेत भइसकेको बताउँदै स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृह मन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताए । ‘नियमित औषधि ढुवानी गर्न केही समय लाग्छ । केन्द्रबाट एक्लै गर्न खोजेको छैन,’ उनले भने ।
सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनाश तालको उत्तरपट्टको ठुलाकोट भन्ने डाँडामा आविष्कार केन्द्र खोलेका छन् ।