जबराविरुद्ध महाभियोग अघि बढाउन सिफारिस समितिलाई सभामुखको निर्देशन


२५ श्रावण २०७९, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग छानबिन गर्न गठित समितिलाई छानबिन अघि बढाउन निर्देशन दिएका छन् ।

आज (बिहीबार) वीरेन्द्र सम्मेलन केन्द्र नयाँ बानेश्वरको शंकर हलमा समितिको सहजीकरण बैठक राख्दै सभामुख सापकोटाले आफ्ना तर्फबाट छानबिननमा सहयोग हुने बताएका छन् । ‘११ सदस्यीय समितिलाई छानबिन अघि बढाउन निर्देशन दिनुभयो’, एक सदस्यले भने, ‘सभामुखले आफ्नो सहयोग रहने बताउँदै छिट्टै काम सम्पन्न गर्न शुभकामना दिनु भयो ।’
बैठकमा सभामुख सापकोटा, उपसभामुख पुष्पा भुसाल, सचिव लक्ष्मीप्रसाद गौतमसहित समितिका सदस्य उपस्थित थिए । २२ साउनको संसद बैठकले महाभियोग प्रस्ताव बहुमतले पारित गर्दै महाभियोग सिफारिस समितिमा पठाएको थियो ।

महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ । समितिमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सांसद लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्। यस्तै, नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । २०७८ फागुन २२ गते प्रतिनिधि सभाले राणाविरूद्धको महाभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । २९ फागुन २०७८ मा बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगको प्रस्ताव पेस भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७