एमाले सांसद भट्टराईको प्रश्न : सिन्जु आबे नेपाल आए-नआएको थाहा नपाउने नेताबाट देश चल्छ ?


२५ श्रावण २०७९, बुधबार
Khimlal Bhattrai

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गरेका छन् ।

नेपालमा एक पटक पनि नआएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई-तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुँर्‍याएको बताएका हुन् ।

आज (बुधबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्व प्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

नेता भट्टराईले भने, ‘गठबन्धन भित्रका एक जना सिनियर नेता जापान भ्रमण जानु भयो । जापान भ्रमणमा जाँदाखेरी उहाँले शानका साथ भन्नु भयो-पूर्व प्रधानमन्त्री जसले अस्ति भर्खरै हत्या गरिएकको छ । सिन्जु आबे नेपाल आएको बेलामा दुई-दुई पटक उहाँसँग कुरा भएको छ नेपालका आपसी हितको बारेमा दुई तीन पटक कुरा भएको छ विकास निर्माणको बारेमा। गौरवको साथ उहाँले भन्नु भयो। जबकि सिन्जु आबे नेपाल आउनु भएकै थिएन । यस्तो खालको यो हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो ?’

उनले थपे, ‘ एउटा सिनियर नेता, देशको जिम्मा लिएको भनौं यत्रो सत्ता गठबन्धन छ हामी चलाएको छौ भनिएको छ । तर, यस्तो हल्का प्रस्तुति, यस्तो हल्का टिप्पणी, यस्तो हल्का तयारी यो के हो यो ? देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? देशको जिम्मा लिनु भनेको । भने यसप्रति मेरो टिप्पणी छ । आलोचना छ । यस्तो नगरौं । यसले देशलाई हल्का बनाउँछ । जनताको शीर निहुँर्‍याउँछ । मेरो आग्रह छ ।’

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे । दैनिक उपभोग्य खाद्यन्नको मूल्यवृद्धि एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उनले आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७