अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन


२५ श्रावण २०७९, बुधबार
teku

काठमाडौँ । काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।

अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालका निर्देशक डा. मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फोहर व्यवस्थापन गर्दै आइरहेको बताइन् ।

उनका अनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र (आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहरको व्यवस्थापनको जिम्मा तोकिएको छ । अस्पतालले फोहर सङ्कलन गर्ने क्रममा नै वर्गीकरण गरी सङ्कलन गर्ने गरेको छ । सङ्कलन गरेको फोहरलाई अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा. रावलले जानकारी दिइन् ।

‘हामी सरुवा रोग अस्पताल भएकोले फोहरलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ’, उनले भनिन्, ‘मानव अङ्ग र जल्ने खालका फोहरलाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौँ र अरु फोहरलाई निर्मलीकरण गर्दछौँ ।’ अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फोहर व्यवस्थापन गर्न चुनौती नै थपिएको उनी बताउँछिन् ।
‘पिपिइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या पर्‍यो । अर्को कुुरा अस्पतालबाट निस्केको फोहर सङ्क्रमण फैलाउने भन्ने पनि डर भयो’, उनले भनिन्, ‘सरसफाइ गर्नेलाई फोहर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा सङ्क्रमण फैलिन सक्दैन भनेर दियौँ । सोही अनुसार फोहर व्यवस्थापन गर्नुभयो ।’

इन्चार्ज देवकोटाले हानिकारक फोहरलाई अटोक्लेप मेसिनबाट खतरामुक्त बनाइ बेच्ने गरेको बताउँछिन् । अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् । ‘सुरुमा हानिकारक फोहरलाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौँ’, उनले भनिन्, ‘फोहर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौँ ।’ टेकु अस्पतलामा कोभिड-१९ को महामारीको भने फोहर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पिपिइ, पञ्जा र मास्क जस्ता फोहर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उनी बताउँछिन् ।

सामानलाई त्यतिकै राखेर पछि कोभिड- १९ को फोहर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फोहर व्यवस्थापन आफै गरेको छ । अस्पतालले फोहर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फोहर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उनको भनाइ रहेको छ । उनले अस्पतालको शैंयादेखि नै कुहिने र नकुहिने फोहर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताए ।

उनका अनुसार अस्पतालमा जम्मा भएको फोहरलाई छुट्टै टहरामा राखी निसङ्क्रमणा गरी व्यवस्थापन गरिएको छ । अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फोहरलाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ । अस्पतालमा भएका फोहर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ ।

निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फोहर व्यवस्थापन गर्दै आएको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाले शैंयादेखि नै कुहिने र नकुहिने छुट्याएर फोहरको व्यवस्थापन गर्ने गरेको बताउँछन् । उनले काठमाडौँ महानगरको फोहरको वर्गिकरण अनुसार फोहर व्यवस्थापन गरेको बताए । यसका साथै अस्पतालले मानवअङ्ग र जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उनी बताउँछन् । ‘जोखिमजन्य फोहरलाई हामीले मेसिनबाट धुलो बनाउँछौं’, उनले भने, ‘धुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फोहर धुलोलाई व्यवस्थापन गर्दछौँ ।’ अस्पतालको फोहर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७