विद्युत् प्राधिकरणको नाफा एक वर्षको खुद नाफा १६ अर्ब ९ करोड, चुहावट पनि घट्यो


२५ श्रावण २०७९, बुधबार
kulman
फाइल फोटो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो नाफा १६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष प्राधिकरणले ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी गर्न प्राधिकरण सफल भएको छ । दोस्रोमा नेपाल टेलिकम छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

bijuli 1

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत् महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ ।

विद्युत् चुहावट १५.३८ प्रतिशतमा झऱ्यो

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ । विद्युत् प्रणालीमा आर्थिक वर्ष ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आर्थिक वर्ष २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाई चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ’ उनले भने ।

विद्युत् निर्यात बढ्यो, खुद आयात घट्यो

आव २०७८/७९ मा भारतर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा करिब ३६४ देखि ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत् निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा समेत प्राधिकरण विद्युत् आयातलाई घटाउन सफल भएको छ । आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अवस्था अन्त्य भई खुद निर्यात सुरु हुने बताए । आव २०७८/७९मा विद्युत् पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत् प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७