एक चीन नीतिमा नेपालको अडानलाई लिएर चीन प्रसन्न


२५ श्रावण २०७९, बुधबार
china 1 1

काठमाडौँ । नेपालले एक चीन नीतिमा आफ्नो प्रतिवद्धता सार्वजनिक गरेपछि चीनले प्रशंसा गरेको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताको दौरान चिनियाँ पक्षले नेपालको प्रशंसा गर्दै खुशी व्यक्त गरेको हो ।

खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ टोलीबीच सान्तोङ प्रान्तको छिङ्ताओमा द्धीपक्षीय बैठक भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।

द्वीपक्षीय बैठकमा चिनियाँ पक्षले नेपालले एक चीन नीतिप्रति गरेको प्रतिबद्धताको प्रशंसा गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिएका छन् । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू प्रसन्न देखिए’ ती अधिकारीले भने ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसपछि एक चीन नीतिमाथि उठेको प्रश्नलाई कमजोर पार्नका लागि चीनले नेपालसहित संसारका विभिन्न मुलुकहरूलाई एक चीन नीतिप्रति प्रतिबद्धता जनाउन अप्रत्यक्ष रुपमा आह्वान गरेको थियो । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीन खुशी भएको हो ।

मन्त्रालयका अनुसार दुई मन्त्रीहरूबीचको बैठक सौहार्दपूर्ण र फलदायी रह्यो । दुवै मन्त्रीले नेपाल र चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति भएको मन्त्रालयको ट्वीटर ह्यान्डमा उल्लेख छ । द्वीपक्षीय बैठकमा भएका विस्तृत कुराकानी बुधबार राति नै सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७