एन्फा कार्यसमिति बैठक बस्दै, के-के छन् एजेण्डा ?


२६ श्रावण २०७९, बिहीबार
anfa karyasamiti

काठमाडौं । दुई पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे शुरु हुनेछ ।

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।

६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्बाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुशी राख्न असफल भएका छन् । आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि नेम्बाङले चुनावी सहयोगी थापा समूहलाई पाखा लगाउदै आएका छन् ।

चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । पाँडेबाट बढी दबाब खेप्दै आएपछि नेम्बाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाँडे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाँडेको बर्खास्तीको माग गरेको छ ।

जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेको बर्खास्ती माग गरेका छन् । आजको बैठकमा सबैको ध्यान यसैमा हुनेछ । यस्तै, प्रवक्ता सहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्त हुनेछ । यस्तै महिला साफ आयोजना समेत मुख्य विषय रहेको छ । बैठकमा २२ एजेण्डा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७