बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान


२६ श्रावण २०७९, बिहीबार
dengu butwal

बुटवल । बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ । स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए । बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएका छन् । प्रादेशिक अस्पतालमा संकास्पद विरामी परिक्षण गर्दा ४० देखि ४५ प्रतिशतमा डेंगु जोरो देखिएको प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. नेत्र रानाले बताए । अस्पतालमा अहिले ५ जना जति भर्ना भएका छन्। अरु डेंगु सक्रमित घरमा छन् । साउन यता डेंगु जोरोका विरामी बढेको रानाले बताए ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए । यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७