मुक्तिको घोषणासँगै हरुवा-चरुवा उत्साहित


२६ श्रावण २०७९, बिहीबार
farmer 1
सांकेतिक तस्वीर

जनकपुर । अनुहार मलिन र चिन्तित देखिने धनुषाको शहीदनगर नगरपालिका-४ ननपट्टिका राजदेव वीनको अनुहारमा अचेल छुट्टै रौनक र चमक देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते तराई मधेसका जिल्लामा वर्षांैदेखि कायम रहेको हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक र चमक फर्किएको हो ।

‘साहुकोमा म गोठालोको काम गर्दै आएको थिएँ’, वीनले भने, ‘अब सदाका लागि मुक्त भएको छु ।’ जमिन्दारको घरमा हरुवाचरुवाको रुपमा काम गर्दा दासत्वको अनुभूति भएको उनको भनाइ छ । ‘पहिला जीवन कसैको अधिनमा छ भन्ने अनुभूति भइरहेको थियो, अब नयाँ जीवन पाएको महसुस भइरहेको छ ।’

पहिला साहुको खेतमा मजदुरी गर्ने वीन अब आफू मालिक भएको अनुभव गर्न चाहेको सुनाउँछन् । ‘पहिला घाम र पानीलाई प्रवाह नगरी मरि मरि साहुको खेतबारी र घरमा काम गर्नुपर्दथ्यो, उनले भने, ‘तर अब साहुबाटै बटैयाँ र ठेक्कामा जग्गा लिएर आफै खेती गर्छु ।’

सप्तरीको शम्भुनाथ नगरपालिका-९ बसवलपुरका मुक्ति सदालाई पनि यतिबेला फरक अनुभव भइरहेको छ । गाउँकै साहुकोमा खेतीपाती र गोठालोको काम गर्दै आएका मुक्तिले पनि हरुवाचरुवाको पहिचानबाट मुक्ति पाउने भन्दै खुशी महसुस गरिरहेका छन् । उनले भने, ‘बाबुले लिएको ऋण तिर्न नसक्दा म पनि साहुकोमा हरुवा बस्नुपर्ने स्थिति थियो, सरकारले हरुवाचरुवा मुक्त गरेपछि साहुबाट मुक्त भएको र स्वतन्त्र जीवनमा बाँच्न पाउँदा औधि खुशी लागेको छ ।’

पश्चिम नेपालबाट कमैया र हलिया मुक्त भएको करिब दुई दशकपछि बल्ल उस्तै प्रकृतिको हरुवाचरुवा मुक्तिको घोषणा गरिएको छ । ‘मुक्तिको घोषणा भएपनि यसको व्यवस्थापन गर्न चुनौती देखिएको छ’, हरुवाचरुवा अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले भने । मधेस प्रदेशको आठवटै जिल्लामा हरुवाचरुवा प्रथा छ । हरुवाचरुवा मुक्ति घोषणा कार्यान्वयका लागि सङ्घीय, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७