तीन वर्षपछि समातिएका प्रतिवादी कोभिड अस्पतालबाट फरार


२६ श्रावण २०७९, बिहीबार
pakrau
फाइल फोटो

मोरङ । अदालतले दोषी ठहर भएर तीन वर्षपछि पक्राउ परेका एक जना प्रतिवादी विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट फरार बनेका छन् ।

विराटनगर महानगरपालिका-१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास बुधबार राति १० बजेतिर फरार भएका हुन् । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार अस्पतालमा भने उनको ठेगाना विराटनगर-१६ भनेर टिपाइएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

सजाय भुक्तान नगरिकन तीन वर्षदेखि फरार रहेका उनलाई यही साउन २० गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर अदालतमा पेश गर्नुअघि प्रहरीले कोरोना परीक्षण गरायो । रिपोर्ट पोजिटिभ आएसँगै कारागारले जिम्मा लिन नमानेपछि सामान्य अवस्थाका उनलाई त्यही दिन उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो ।

प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा फरार बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । दासको निगरानीका लागि प्रहरी हवल्दार होमबहादुर बुढाथोकी र सहायक हवल्दार उमेश यादवलाई खटाइएको थियो । बुढाथोकी र यादवको नियन्त्रणबाट फुत्किएर दास फरार बनेको प्रहरीले जनाएको छ ।

‘दासले शौचालय जाने भनेपछि प्रहरीले लिएर गएछन् । फर्कने क्रममा सुरक्षामा खटिएका प्रहरीको पञ्जाबाट फुत्किएर भागेको पाइयो,’ प्रहरी स्रोतले भन्या े। दासको सुरक्षामा खटिएका बुढाथोकी र यादवमाथि जिल्ला प्रहरी कार्यालय मोरङले छानबिन थालेको छ । डीएसपी श्रेष्ठले फरार रहेका दासको खोजी तीव्र पारेर छानबिन अघि बढाइएको जानकारी दिएका छन् ।

अस्पतालका सूचना अधिकारी राजवंशीका अनुसार अस्पतालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ७ जना संक्रमितको उपचार भइरहेको थियो । एक जना फरार बनेपछि अहिले ६ जना उपचाररत रहेको उनले बताए । ‘प्रहरीको निगरानीमा उपचार गराइरहेका संक्रमित फरार बनेका हुन् । शौचालयबाट फर्कने क्रममा भागेको कुरा आएको छ । यस घटनामा अस्पतालको कुनै कमजोरी छैन,’ राजवंशीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७