एमालेले बनायो निर्वाचन परिचालन समिति, ओली आफै संयोजक


२६ श्रावण २०७९, बिहीबार
amale meeting

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो । समितिको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली आफै संयोजक रहेका छन् ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनेको उनले बताए । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने गुरुङले बताए । यस्तै बैठकले एमालेले पार्टीका विभिन्न विभाग सचिव मनोनित गरेको छ ।

यता बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ । गुरुङका अनुसार स्थायी कमिटी बैठक भदौ सात गतेका लागि बोलाउने निर्णय गरेको छ भने ९ गते पार्टीको पोलिटब्युरो बैठक बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने गुरुङले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७