सत्ता गठबन्धनले तीन आधारमा सिट बाँडफाँट गर्ने, शीर्ष नेतालाई जिताउने रणनीति बनाइने

अर्को बैठक सोमबारको वैठकले सिट बाँडफाँटको खाकालाई टुङग्याउने


२६ श्रावण २०७९, बिहीबार
gathabandan karyadal

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलले सिट बाँडफाँटबारेको खाकालाई आउँदो सोमबार टुंग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकले आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाकाबारे छलफल गर्दै अर्को बैठक यही साउन ३० गते सोमबार बस्ने गरी टुंगिएको हो ।

सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो ।

सहमतिअनुसारका तीन आधार, पहिलो, प्रत्यक्षमा पाएको मत र जितेको सिट । दोस्रो, समानुपातिकमा पाएको मत । तेस्रो शीर्षसहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने । कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार बिहीबारको बैठकमा प्रत्यक्षमा चुनाव जित्ने दल र उसले पाएको मतलाई विश्लेषण गरेर उक्त क्षेत्र त्यही दललाई दिने कुरा भएको छ । यस्तै पाँच दलले समानुपातिक प्रणालीमा पाएको मतलाई पनि आधार मानेर भागबण्डा प्रस्ताव पेश भएको छ ।

‘कतिपय क्षेत्रमा व्यक्तिलाई मत नआउने तर, पार्टीलाई मत खसेको हुनसक्छ, त्यो पनि हेरेर सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव छ,’ ती नेताले भने । पाँच वटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ ।
‘हाइ प्रोफाइल लिडरहरूलाई संसदमा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ,’ अर्का नेताले भने, ‘शीर्ष नेताहरुले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ ।’

यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

‘गठबन्धनका शीर्ष नेताहरुको मार्ग दर्शनबमोजिम हामी छलफलमा छौं । सहमतिको मोडालिटी तय गर्दैछौं । आगामी ३० गते अर्को बैठक बस्ने गरी आजको बैठक सकियो,’ कार्यदल सदस्य माओवादी केन्द्रका नेता देव गुरुङले भने, ‘साउन मसान्तसम्ममै काम सकाउँछौं ।’
यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७