प्रहरीको यस्ताे छ निर्वाचन केन्द्रित सुरक्षा योजना


२६ श्रावण २०७९, बिहीबार
DhirajPratap

काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आउँदो निर्वाचनको सुरक्षाका लागि सबै प्रकारको तयारी शुरु भइसकेको जानकारी गराएका छन् ।

आफ्नो कार्यकालको १०० दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकिएको जानकारी गराए ।

‘निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरहेको छ । यस पटक म्यादी प्रहरीको संख्या पनि बढ्न सक्छ । हामीले एक लाख २० हजार म्यादी प्रहरी भर्नाका लागि प्रस्ताव गरेका छौं,’ उनले भने ।

यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायिता देखाएको र शान्तिपूर्ण तथा विश्वसनीय तवरले निर्वाचन सम्पन भएको उनको दाबी छ । आफ्नो कार्यकालमा विगतका महानिरिक्षकका कामहरुलाई निरन्तरता दिँदै आएको र संगठनको लक्ष्यअनुसार काम अघि बढाएको उनले बताए ।

उनले प्रहरीको बढुवा पनि न्यायसंगत भएको बताए । ‘प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणालीअनुरूप पारदर्शीरूपमा भएका छन्। सांगठनिक सुधारका लागि ८ वटा लक्ष्यसहित कार्ययोजना २०७९ लागूसमेत गरिएको छ । मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गरिरहेको छ,’ उनले भने ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए । उनले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए ‘कानुनभन्दा कोही पनि माथि छैन । प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारबाही हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७