चीनले दिने ६० अर्बबारे कुरा भयो, चाँडै उपयोग योजना बनाउँछौं: मन्त्री खड्का

केरुङ-काठमाडौं रेलमार्गबारे छलफल


२६ श्रावण २०७९, बिहीबार
Narayan Khadka

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनले यसअघि दिने भनिएको ३.५ बलियन युआन (करिब ६० अर्ब रुपैयाँ) को चाँडै उपयोगको योजना बनाइने बताएका छन् ।

तीन दिने चीन भ्रमण सकेर आज (बिहीबार) साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा. खड्काले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा दिने भनिएको उक्त रकम उपयोगको योजना बनाइने बताएका हुन् ।
‘विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएका छौँ’, उनले भने, ‘चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोग (करिब ६० अर्ब) को उपयोगबारे रचनात्मक कुरा भएको छ ।’

खड्काले नेपालको चीनतिर बढ्दो व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा राखेको जानकारी गराएका छन् । यस्तै भ्रमणका क्रममा सीमानाका कोभिड महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि दुई पक्षबीच भएको खड्काले बताए ।
केरुङ-काठमाडौं रेलमार्गबारे छलफल
परराष्ट्रमन्त्री नारायण खड्का चीनसँगको द्विपक्षीय बैठकमा विगतमा भएका उच्चस्तरीय भ्रमणमा भएका महत्त्वपूणर् समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषयमा जोड दिएको उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएको पनि उनले बताए ।

दुई देशबीच दोस्रो चरणको काठमाडौं रिङ रोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । साथै केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति पनि भएको उनले बताए । यसका लागि यसै वर्ष भित्र चिनियाँ प्राविधिक टोली खटाउने कुरा भएको उनको भनाइ छ ।

उनकाअनुसार नेपालको नुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ । चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उनले जानकारी दिए । नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उनको भनाइ छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहोर्‍याएको उनले बताए । साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताए । परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन २४ गते चीन गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७