चिनियाँ राजदूत यान्छीले भेटिन् सभामुख सापकोटालाई


२७ श्रावण २०७९, शुक्रबार
299078771 492757662850462 9185847090404462684 n

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो ।

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

298879943 492757746183787 8151476787792485464 n

सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

सभामुख सापकोटाले चैत २०७८ मा चीनको राष्ट्रिय जनकंग्रेसका महामहिम अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद-संसदबीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने धारणा राखे ।

सभामुख सापकोटाले नेपालको आर्थिक-सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड १९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहायताका लागि धन्यवाद दिए । साथै भेठमा उनीहरुहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउने सम्बन्धमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७