विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता


२७ श्रावण २०७९, शुक्रबार
bipatpur

कैलाली । कैलारी गाउपालिका-७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

कैलारी गाउपालिका-७ विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका हुन । सो बस्तीमा रहेका ७१ घरपरिवारमध्ये २७ घर पूणर्रुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति भएको थियो ।

सो मुक्तकमैया बस्तीका ३६ वर्षीषा देवी चौधरीले नेपाल रेडक्रस सोसाइटीले दिएको पालमुनि दिनरात बिताउँदै आएको दुखेसो गरिन् । उनले भनिन्, ‘वर्षायामको समय छ हावापानीले कैयौँ दिन ओत लाग्न बनाएको त्रिपाल उडाएको मात्र छैन, सर्प र किराको डर पनि त्यत्तिकै छ ।’ आगलागीले घरबारविहीन बनाएपछि खानलाउन पनि त्यत्तिकै समस्या भइरहेको आगलागी पीडितको गुनासो छ । वर्षायाममा गाउँमा ज्यालामजदुरी नपाउँदा कामका लागि अन्यत्र भौतारिनु परेको उनीहरुकको गुनासो छ ।

सरकारले २०६४ सालमा ७१ मुक्तकमैया परिवारलाई पाँच कठ्ठाका दरले जग्गा वितरण गरेर विपतपुरमा बसोबास गराएको थियो । कैलारी गाउँपालिका-७ का वडाध्यक्ष दीपेन्द्र बमले आगलागीपीडित परिवारलाई घर निर्माण गर्न काठको व्यवस्था गर्न समस्या भइरहेको बताए । आगलागी पीडितलाई प्रदेश सरकारले रु ५० हजार राहत वितरण गर्नुका साथै वर्षायामअघि नै घर निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म आश्वासन पूरा हुन सकेको छैन । विपतपुरका मुक्तकमैयाले नयाँ लालपुर्जाका लागि भूमिसुधार र मालपोत कार्यालयमा आग्रह गरेका छन् ।

उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरी नयाँ लालपुर्जा दिन आग्रह गरेका छन् । सो बस्तीका दाउराम चौधरीले ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्रअनुसारको ब्लुप्रिन्ट, फाइल नक्सा उपलब्ध गराउनुपर्ने, पुन.स्थापना प्रक्रियाका क्रममा १३ घरधुरी मुक्तकमैयालाई परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै आएको बताए ।

मालपोत कार्यालयका नायबसुब्बा लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुट्काका विषयमा भूमि आयोगले हेर्ने र ५२ घरधुरीलाई दिएको लालपुर्जाका विषयमा भने फेरि लालपुर्जा दिन सकिने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७