कांग्रेस प्रवक्ता डा. महतले गरे नुवाकोटको बाढी पहिरो प्रभावित क्षेत्र निरीक्षण


२७ श्रावण २०७९, शुक्रबार
pahiro nuwakot

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् ।

यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पुर्‍याएको छ । नुवाकोटको दुप्चेश्वर-३ राउतबेंसी, तादी- ४ सातबिसे र पञ्चकन्या- ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या- २ आप्र र तादी- ५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या- १ को सिमारा फाँट र लिखु- ३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुल बाढीका कारण क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि प्रवक्ता डा महतले सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन पुनः सञ्चालनमा ल्याउन र बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गरे ।

आफ्नो गृह जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुगेका पूर्वमन्त्री डा. महतले बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको अनुगमनपछि आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेका बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्थापना तथा पुनर्निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा. महत पुगेका थिए ।
उनले पहिरोबाट अधिक प्रभावित राउतबेँसीको निरीक्षण भ्रमणपछि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणका लागि शीघ्र कदम चाल्न सरकारसँग माग गरे ।

बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकसँगको भेटपछि डा महतले स्थानीय जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारमा छलफल गरेका थिए । उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्‍याएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न, प्रभावितको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनामध्ये सानातिना र थोरै रकमले हुने मर्मतसम्भार पालिकाको बजेटबाट सम्पन्न गराउन सुझाव दिए ।

प्रवक्ता डा. महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाका हकमा प्रदेश सरकार र सङ्घीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७