डायलायसिस मेशिन आयो, जडान भएन


२८ श्रावण २०७९, शनिबार
rapti

दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ डायलायसिस मेशिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेशिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेशिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताइन् ।

मेशिन आए पनि अन्य सामग्री नआएको उनले बताइन् । रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । ‘मेशिन त आए, तर अन्य सामग्री आउनुपर्छ’, उनले भनिन्, ‘प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।’

अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेशिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेशिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताइन् । त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेशिन छन् । पाँच मेशिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेशिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७