विश्वकप फुटबलको खेल तालिका परिवर्तन : उद्घाटन खेल कतार र इक्वेडरबीच


२८ श्रावण २०७९, शनिबार
world cup quatar

काठमाडौँ । विश्वभरका फुटबल खेलप्रेमीले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेलतालिका परिवर्तन भएको छ । कतारमा आगामी मंसिर ५ गतेदेखि प्रारम्भ हुने भनिएको फिफा वर्ल्डकप २०२२ एक दिन अगाडि अर्थात् मंसिर ४ गतेदेखि हुने भएको छ ।

निर्धारित मितिभन्दा एक दिनअगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले घोषणा गरेको छ ।

मूल खेल तालिकाअनुसार मंसिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्यान्डसबीचको खेल सोही दिन हुनेछ । तर, उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्वकप प्रतियोगिताको पहिलो खेल भने अब मंसिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ । यसअघि मंसिर ५ गतेका लागि सेनेगल र नेदरल्यान्डस तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।

फिफाले विश्वकप फुटबल प्रतियोगिताको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल-तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्व निर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७