देउवा सरकारको कामबाट जनता वाक्कदिक्क भइसके : ज्ञवाली

‘अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ’


२८ श्रावण २०७९, शनिबार
youraj gyawali
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दावी गरेका छन् । उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्‍याउने बताए ।

उनले भने, ‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्नेगरी तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँच दलीय गठबन्धनका साथीहरु नै यसबारेमा सबैभन्दा बढी सचेत छन् । कांग्रेसले त एक्लै एमालेलाई पराजय गर्न सकिँदैन भनेर निष्कर्ष निकालेको छ । अहिले कांग्रेस चुनावको लागि अरु सहयोगीको खोजी गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिले पनि ठूलो दल हो। एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरुले एमलो विजयी हुने बलियो आधार छ ।’

ज्ञवालीले नेपाली जनता अहिले कतिबेला चुनाव हुन्छ र एमालेलाई मतदान गरौँला भनेर पर्खिएर बसेको बताएका छन् । ‘जनता अहिले एमालेलाई मतदान गर्नका लागि प्रतिक्षा गरेर बसेका छन् । अहिलेको सरकारको कामबाट जनता वाक्कदिक्क भएका छन् । कांग्रेससँगै अहिलेको गठबन्धनलाई विदाई गर्ने तयारीमा जनता जुटेका छन् । हामी आफ्नो खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा लागेका छौं । हामी एक्लै बहुमत ल्याउँछौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७