निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल


२८ श्रावण २०७९, शनिबार
niharika

काठमाडौँ । राष्ट्रपति भवन अगाडि हिजो (शुक्रबार) आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो जनाएकी छन् ।

आज (शनिबार) कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा ध्यानाकर्षण गराएकी हुन् । कानुनमन्त्री र महान्यायाधिवक्तासँग नियमित परामर्श गर्ने क्रममा आज भएको भेटमा राष्ट्रपति भण्डारीले निहारिकाको सन्दर्भमा गम्भीरतापूर्वक चासो व्यक्त गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । राष्ट्रपति भण्डारीको चासोपछि कानुनमन्त्री कोइरालाले निहारिकाको विषयलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै थप पहल गर्ने बताएको पनि ढकालले बताए ।

मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि जानकारी गराएका थिए । ९ दिनदेखि बसन्तपुरमा अनसनरत निहारिका राजपुतले हिजो राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । तर शरीरमा पेट्रोल छर्किसकेपछि प्रहरीले रोकेका कारण अप्रिय घटना हुनबाट जोगिएको थियो ।

निहारिकाले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्नेलगायतका माग राखेकी छन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी निहारिकाले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः जाँच गरिनुपर्ने माग गरेकी छन् । उनले यस पटक न्याय नपाई घर नफर्किने बताउँदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७