खुमलटारमा प्रचण्ड र बाबुरामबीच वार्ता, नेसपालाई सत्ता गठबन्धनमा ल्याउने तयारी


२९ श्रावण २०७९, आईतवार
prachanda baburam 750

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच खुमलटारमा भेटवार्ता भएको छ ।

नेसपा अध्यक्ष भट्टराई प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । दुईजना नेताबीच एक्ला एक्लै वार्ता भएको स्रोतले जानकारी दिएको छ । वार्तामा प्रचण्डले बाबुरामलाई पाँच दलीय सत्ता गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता जनाएको स्रोतको दावी छ ।

एउटै चुनाव चिह्नमा लड्ने गरी डा. भट्टराईलाई सत्ता गठबन्धनमा ल्याउने प्रतिवद्धता प्रचण्डले जनाएको जानकारी दिंदै स्रोत भन्छन्, ’दुबै नेता माओवादीकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट आगामी चुनाव लड्ने विषयमा सहमति नजिक हुनुहुन्छ ।’

यसअघिको भेटमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । तर आइतवार दुई नेताबीच एक्ला एक्लै वार्ता भएको थियो । प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि भोलि (सोमबार) सत्तारुक्ष गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।

यसबारे थप गृहकार्य गर्ने सहमतिसहित दुई नेताहरुको बैठक सकिएको छ। जनता समाजवादी पार्टीबाट बिदा भएपछि बाबुराम अहिले नयाँ पार्टी खोलेर राजनीतिक अभियानमा छन् । यस्तोमा उनी आगामी चुनाव जित्ने राम्रो विकल्पको खोजीमा जुटेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७