लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा नाम्गेल शेर्पा


२९ श्रावण २०७९, आईतवार
Namgel Sherpa

काठमाडौं : नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्षमा नाम्गेल शेर्पा सर्बसम्मत चयन भएका छन् । शनिबार राती अबेर सम्पन्न दोस्रो महाधिवेशनबाट शेर्पा सर्बसम्मत रुपमा चयन भएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूवप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले शेर्पाको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

रामेछापका शेर्पा विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आएका हुन् । शेर्पा २०५५ सालमा अनेरास्ववियूका अध्यक्ष थिए । अनेरास्ववियूको केन्द्रीय सदस्य हुदैं जिल्लाको राजनीतिमा सक्रिय शेर्पा एमाले विभाजनपछि मालेमा सक्रिय भए । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा सक्रिय भए ।

माओवादीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका शेर्पा स्थानीय तहको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए ।
शेर्पा माओवादी निकट शेर्पा मुक्ती मोर्चाको सचिवको जिम्मेवारीमा थिए । उनी शेर्पाहरुको साझा संस्था नेपाल शेर्पा संघको पूर्व महासचिव र शेर्पा विद्यार्थी मञ्चको पूर्वअध्यक्ष समेत हुन् । गृह जिल्ला रामेछापसँगै शेर्पा समुदायमा उनको गहिरो प्रभाव छ ।

Kripasur Sherpa

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी तथा योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा निर्विरोध चयन भए । उपाध्यक्षमा पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङवाङ निमा शेर्पा र ल्हाक्पा शेर्पा चयन भए । महासचिवमा आङ पेम्बा शेर्पा उप–महासचिव मिग्युर शेर्पा निर्वाचित चयन भए ।

महाधिवेशनमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी करिब तीनहजार सहभागी रहेको संघले जनाएको छ । महाधिवेशनमा शेर्पाहरुको बाहुल्यता रहेको सोलुखुम्बु, रामेछाप, ओखलढुङगा, भोजपुर, संखुवासभा, ताप्लेजुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभगी रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले शेर्पा समुदायलाई राजनीतिको मुलप्रवाहमा ल्याउन वैचारिक र सांगठानिक अभियान सुरु गर्ने बताए । उनले नयाँ पेजसँग भने, ‘सबै शेर्पा समुदायलाई नेकपा (एमाले)मा संगठित र गोलबन्दै गर्दै वैचारिक र सांगठानिक दुबै रुपमा देशभरीका शेर्पाहरुलाई मुलप्रवाहमा ल्याउन पहलकदमी सुरु गर्नेछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७