स्थानीयलाई कम शेयर परेकाे भन्दै सान्जेन जलविद्युत कार्यालयमा तोडफोड


२९ श्रावण २०७९, आईतवार
todfod sanjen 3

रसुवा । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।

शेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेको कार्यालयका एक कर्मचारीले जानकारी दिएका हुन् । करिब ७०-८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत शेसयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।

todfod sanjen

कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याइएको छ । उनीहरुले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् । कार्यालयका विभिन्न संरचनाहरु भत्काइ दिएका छन् ।

२९ माघ, २०७६मा नै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो । तर, गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम शेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए । तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।

todfod sanjen 4

‘धम्की आइरहेको थियो, हामीले प्रहरी र प्रशासनसँग सुरक्षाका लागि सहयोग मागेको धेरै दिन भयो,’ आयोजनाका एक अधिकारीले भने,’चुनाव लागेकाले प्रशासन यस्तो अराजक समूहप्रति नरम देखिएको छ । हामी ज्यादै असुरक्षित भयौं ।’ सान्जेनले २०६८ को मंसिरमा र माथिल्लो सान्जेनले २०६९को भदौमा उत्पादन अनुमतिपत्र पाएको थियो । ३५ वर्ष लाइसेन्समध्ये करीब ११ वर्ष निर्माणमै गुज्रिसकेको छ ।

माथिल्लो सान्जेन २०७४ को साउनसम्म र सान्जेन २०७५ को माघसम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम शुरु गरिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिएपछि सान्जेन (माथिल्लो)को आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म र सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/०७९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो । तर, आयोजनाहरु बल्ल निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७