नेपाली टोलीको ब्याटिङमा टेक्निकको अभाव छ : मुख्य प्रशिक्षक प्रभाकर


२९ श्रावण २०७९, आईतवार
Pravakar can

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले दुई/तीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार आउने दाबी गरेका छन् ।

आज आइतवार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई दुई/तीन महिनामा नै सुधार गर्ने बताए् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आएका थिए । उनले नेपाली टोलको ब्याटिङमा ‘टेक्निक’ अभाव रहेको औंल्याए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतवार कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा भएको कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । प्रभाकरले नेपाली खेलाडीले आईपीएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए ।

विश्व क्रिकेट लिग-२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरैभन्दा धेरै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।
नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरैजसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरू छन् । तर पछिल्लो समय टोलीभित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ ।

खेलाडीबीच गुट/उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै अवस्थामा कसरी अगाडि बढाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकरले कुनै पनि परिवारभित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवारभित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७