चोरी भएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता


२९ श्रावण २०७९, आईतवार
murti

काठमाडौँ । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ ।

पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका-२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४-१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । यो १३ औं वा १४ औं शताब्दीमा निर्माण भएको टुँडाल हो । शिवको मूर्ति भने महानगरपालिका-१९ स्थित कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो । यो मूर्ति १० औं वा ११ औं शताब्दीमा बनेको अनुमान गरिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।

दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ । उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका यस्तै अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिए ।

पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । सार्वजनिक भएपछि म्युजियमका वरिष्ठ कला विशेषज्ञ जोन गाईले विभागका महानिर्देशकलाई दुवै सामग्री हस्तान्तरण गरेका हुन् । यी सामग्री छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । यसअघि गत असार १० गते प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको भएको थियो । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कलाशैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको हो ।

यो मूर्ति भक्तपुर नगरपालिका-७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो । यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा संंयुक्त राज्य अमेरिकाको कनेक्टिकटस्थित याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको पत्ता लागेको विभागले जनाएको छ ।

मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्ट्याइँ दिएपछि विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो । मूर्ति फिर्ता गर्ने सम्बन्धमा गत वैशाख २३ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकाको सहयोगमा गत जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका-११ गा ः हिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

प्रस्तरको नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरूपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताए ।

मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाए । उनले नै मूर्ति विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७