सिट बाँडफाँट यथाशीघ्र गर्न कार्यदललाई गठबन्धनको निर्देशन


२९ श्रावण २०७९, आईतवार
Gathbandhan Top five leader of nepal

काठमाडौँ । सत्ता गठबन्धनले आउँदो निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको हो । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए ।

गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रनेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

‘केही दिन अगाडि सत्ता गठबन्धनमा सिट बाँडफाँट व्यवस्थापन कार्यदल बनेको थियो । आजको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन गरेको छ,’ मन्त्री कार्कीले भने । गठबन्धनमा आगामी भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने समझदारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७