बञ्चरेडाँडामा सत्तारुढ दलकै अवरोध, सधैंलाई फोहोर फ्याँक्न नदिने

मेयर शाह भन्छन्, ‘फोहोरको रासमा कुहिएको राजनीति नगरौं, यसले कसैलाई अघि बढाउँदैन’


२९ श्रावण २०७९, आईतवार
bancharedanda

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन थप पेचिलो बन्दै गएको छ । फोहोर व्यवस्थामा यसअघि स्थानीयले विभिन्न माग राखेर अवरोध गर्दै आएको अहिले नयाँ समस्या देखिएको छ । काठमाडौँको फोहोर विसर्जनका लागि निर्मित धादिङ बेंसीस्थित बञ्चरेडाँडालाई लिएर राजनीतिक दलहरु समेत असहयोगमा उत्रिएका छन् ।

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकेर बर्षाका बेला सडक-सडकमा फोहोर छरिन थालेका बेला आइतवार सत्तारुढ तीन दलले सधैंका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका छन् । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धादिङको धुनीबेंसी नगरपालिकास्थित संगठनहरुले बञ्चरेडाँडा अब सधैका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका हुन् ।

banchare danda landfil site 9GbWSZ8H9n

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सीमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन् । स्थानीयको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन् ।

‘अहिलेसम्म १७४ सहमति भइसके । तर सरकारले ती सहमति कार्यान्वयन गर्न चाहेन । राज्यको आफ्नै निकायका सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडितहरुमाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरे । स्थानीय पीडितहरुलाई विभिन्न झुटो अभियोग लगाई दुःख दिन खोजे’, उनीहरुले भनेका छन्, ’अब महानगर वा राज्यसँग सम्पूर्ण रुपमा विश्वास गुमेकोले फोहोर मैला दीर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व दलले गरिदिनुपर्ने माग जोडतोडका साथ उठेको छ । तीनै पार्टीको नगर कार्यसमितिले तत्कालै एमालेसहित सबै दलको सर्वदलीय बैठक बोलाई फोहोरको समस्या समाधानको लागि अग्रसरता लिन माग गर्दछौँ ।’

कांग्रेसका वडा सभापति पूणर्सिंह तामाङ, माओवादीका वडा कार्यसमिति अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले यदि यो कुरालाई गम्भीरताको साथ नलिएर जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहे अबको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् । स्थानीयबासीले चुनाव बहिष्कारसम्मको चेतावनी दिएकाले आफूहरु यो कदम चाल्ने बिन्दुमा पुगेको उनीहरुको तर्क छ ।
मेयर शाह भन्छन्, ‘फोहोरको रासमा कुहिएको राजनीति नगरौं, यसले कसैलाई अघि बढाउँदैन’
यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् ।

ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् । उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’, बालेनले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७