सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै


३० श्रावण २०७९, सोमबार
gathabandan karyadal

काठमाडौं । आउँदो मंसिर ४ को निर्वाचनका लागि सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज (सोमबार) बस्दै छ । गएको बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुङ्गिएको थियो ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो । बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

गठबन्धन दलहरूका आ-आफ्ना अडानसहित आजको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो । कांग्रेसका एक नेताका अनुसार विगतमा वाम गठबन्धन हुँदा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले जितेका स्थानमा नेपाली कांग्रेसका शीर्ष तहका प्रभावशाली नेताहरू रहेको र अहिलेको जनमत पनि कांग्रेसकै पक्षमा देखिएकाले राजनीतिक संवेदनशीलताको विषय उठेको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । यस्तै माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

यसैबीच हिजो (आइतबार) बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७