बंगलादेशमा इन्धनको भारी मूल्य वृद्धिविरुद्ध विशाल प्रदर्शन


३० श्रावण २०७९, सोमबार
Fuel Bangaladesh

ढाका । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । यहाँ एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एसियाली मुलुकका हजारौं नागरिकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक संकट देखापर्न सक्ने भन्दै देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन् ।

अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात् ११५.२९ नेपाली रुपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात् १७४.२७ नेपाली रुपैयाँ पुगेको छ । त्यसैगरी यहाँ डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको बताइएको छ ।

विश्वका अन्य धेरै मुलुकमा जस्तै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको हो । ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताएका छन् । सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप उनले अस्वीकार गरे। विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको उनको भनाइ थियो ।

‘यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौं’, उनले भने। गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौंले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए । श्रीलंकाको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७