चुनावी सुरक्षा रणनीति र चुनौतीबारे छलफल


३० श्रावण २०७९, सोमबार
gr

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आउँदो मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र देखिन सक्ने चुनौतीबारे छलफल गरेको छ ।

निर्वाचनको व्यवस्थापन कसरी गर्ने, तयारी कसरी अगाडि बढाउने, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ति परिचालनका विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार बैठकमा निर्वाचनका लागि के के विषय चुनौती हुन सक्छन् र ती विषयको समाधान कसरी खोज्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका समिति टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ बनाएको छ । त्यस्तै गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निणर्य गरेको छ । पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाइने भएको छ ।
त्यस्तै प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाइने भएको छ । त्यस्तै प्रदेश स्तरमा कमान्ड पोष्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल बनाउने पनि निणर्य भएका छ ।

बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकता अनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय पनि भएको छ ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक बसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव बसन्त भट्टराईलगायत सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७