भाइरल ज्वरो फैलिएपछि २३ विद्यालय बन्द


३० श्रावण २०७९, सोमबार
School banda

ओखलढुंगा । ओखलढुङ्गाको लिखु गाउँपालिकाका अधिकांश विद्यालयका शिक्षक तथा विद्यार्थी भाइरल ज्वरोबाट संक्रमित भएका छन् ।

संक्रमण बढेपछि पालिकाले चार दिनका लागि सबै विद्यालय बन्द गरेको छ । सूचना जारी गरेर पालिकाले विद्यालय बन्द रहने जानकारी गराएको हो । नियमित पठनपाठन सञ्चालन गर्न कठिन भएपछि विद्यालय बन्द गराउनु परेको लिखु गाउँपालिकाका शिक्षा शाखा प्रमुख रचना मैनालीले जानकारी दिइन् ।

भदौ ५ गतेदेखि ५ वर्ष पूरा भई १२ ननाघेका विद्यार्थीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यक्रम रहेको र बालबालिका बिरामी भई प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काललाई बन्द गरिएको शिक्षा शाखा प्रमुख मैनालीको भनाइ छ ।

लिखु गाउँपालिकामा सामुदायिक २२ र एक संस्थागत गरी २३ विद्यालय छन् । त्यसमध्ये ४, ५, ६, ७, ८ र ९ नं. वडाका सबै विद्यालयहरुमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक भाइरल ज्वरोले थलिएका छन् । बाँकी वडामा पनि ज्वरोको बिरामी बढेका छन् ।

लिखु- ८ टारकेराबारीको जाल्पा माध्यमिक विद्यालयका सयौं विद्यार्थी ज्वरोले बिरामी भएपछि केही दिनअघि नै विद्यालय बन्द भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले भाइरल ज्वरो र कोरोनाको लक्षण मिल्दोजुल्दो भएकोले बढी समस्या भएको क्षेत्रमा कोरोना परिक्षणको तयारी भइरहेको बताए ।

५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अहिलेसम्म कोरोनाविरुद्धको खोप दिइएको छैन । त्यही समूहका बालबालिका बढी बिरामी भएका स्थानीयको भनाइ छ । भदौ ५ देखि खोप दिने र कोरोना देखिएमा सतर्कता बढाइने पन्तको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७