सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन कहिं छैन : भट्ट


३० श्रावण २०७९, सोमबार
lekhraj bhatta scaled

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागतयोग्य रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले भने, ‘नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभिमान जोगाउनु भयो, कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ’ नेता भट्टले भने ।

उनले छिमेकी भारतमा पनि ७ वर्ष नपुग्दासम्म नागरिकताको प्रक्रिया नै सुरु नहुने प्रावधान रहेको बताएका छन् । ‘सार्क मुलुकको कुरा गर्ने हो भने भारतमा ७ वर्ष नपुग्दा नागरिकताको प्रक्रिया नै सुरु हुदैन, अफगानिस्तानले पनि ७ वर्षमा नागरिकता दिन्छ, मालदिभ्सले १२ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिन्छ, भुटानमा त बिहे गरेर बच्चा जन्मेको २ वर्षपछि मात्रै आमाले नागरिकता पाउने प्रावधान छ । बंगलादेशले पनि २ वर्षभन्दा अगाडि नागरिकताको प्रक्रिया सुरु गर्दैन, नेपालमा मात्रै किन यस्तो ?’ नेता भट्टले प्रश्न गरे ।

उनले उत्तरमा चीन र दक्षिणमा भारत जस्ता बिसाल जनसंख्या भएको देशमा विवाह हुने वित्तिकै नागरिकता दिने प्रावधान राखिनु दुभाग्यपूर्ण र देशको हितविपरीत भएको बताएका छन् ।

उनले गठबन्धन देश बनाउन नभएर आफ्नो परिवारका व्यक्ति बनाउन, आफ्नो स्वार्थपूर्ति गर्नका लागि बनेको आरोप लगाए । ‘कसैका बुहारी, छोरी, ज्वाई भाई भतिजा बनाउन गठबन्धन होला, कसैले पुस्तौं पुस्तासम्मका लागि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन गठबन्धन होला तर देशहितमा भने गठबन्धन छैन’ उनले भने । ’मंसिरको चुनावमा स्वार्थको गठबन्धन र नेकपा एमालेबीचको भिन्नता छुट्टीने छ ।’ नेता भट्टले नेकपा एमालेको पालामा सुदूरपश्चिममा गरिएका विकास निर्माणका काममा अहिलेको सरकारले पुरै बजेट कटौती गरेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७