प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो : १० करोड खर्चेर चुनाव जित्ने गाउँपालिका अध्यक्ष को हुन् ?


३० श्रावण २०७९, सोमबार
Prachanda 2 1

काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे सूचना मागेको छ ।

पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको हो । निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीको नामबाट साउन १० माओवादी पार्टी कार्यालयलाई पत्र पठाइएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि साउन ११ गते हुलाकमार्फत पुनः पत्र पठाइएको आयोगले जनाएको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘देशको पूर्व प्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्ने हुन्छ ।’ आयोगले तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको पनि उक्त पत्रमा उल्लेख गरेको छ ।

अध्यक्ष दाहालले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा ‘एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गरेर जितेको’ देखिएको बताएका थिए । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ थियो । स्थानीय तहको गत चुनावमा गाउँपालिका अध्यक्षका उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७