वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर


३० श्रावण २०७९, सोमबार
fohor 3

काठमाडौँ । साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ ।

पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ । ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् । प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने भक्तजनलाई साउनको अन्तिम सोमबार आज दुर्गन्धले नाक थुन्न बाध्य हुनुपर्‍यो ।

राजधानीमा एक महिनाअघिदेखि नै फोहर समेत उठ्न नसकेका बेला पशुपति क्षेत्र ढलले दुर्गन्धित बनेपछि हैजालगायत रोग फैलन सक्ने चिन्ता व्यक्त गर्छिन् चाहिलबाट दर्शनका लागि आएकी दर्शनार्थी अनुषा लामा । ढलको दुर्गन्धले कति भक्तजन त यो बाटोबाट फर्केर वैकल्पिक मार्ग प्रयोग गर्दै मन्दिर प्रवेश गरिरहेका छन् । लामासँगै उनका दुई साथी सविना श्रेष्ठ र सपना तामाङ भने नाक थुनेर सडक पार गर्दै गरेको अवस्थामा भेटिए । साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा धेरै भीड हुने भएकाले घुमेर जाँदा दर्शन गरेर घर फर्कन ढिला हुने उनीहरुको भनाइ छ ।

यस सम्बन्धमा प्रतिक्र्रिया लिनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रवेश गर्दा कोषका पदाधिकारी र माथिल्लो तहका कर्मचारी कोही भेटिएनन् । कोष सञ्चालक परिषद् सदस्य अजुर्नप्रसाद बाँस्तोला आफै अध्यक्ष रहेको एउटा संस्थाको कार्यक्रममा भाग लिन गएको र अन्य कर्मचारी पनि सोही कार्यक्रममा सहभागी भएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । वनकाली उद्यानअघिको ढलको समस्या क्रोनिक भएको उनको भनाइ छ ।

साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड हुँदा पनि पशुपति क्षेत्रको व्यवस्थापनका लागि काम गर्ने कोषका कर्मचारी अर्कै कार्यक्रममा सहभागी हुँदा निःशुल्क भनिएको जुत्ता चप्पल कक्षमा समेत पैसा उठाइरहेको देखिन्थ्यो । विगतका सोमबार कोषका कर्मचारीले अनुगमन र रेखदेख गर्ने गरेकामा आज भने अर्कै कार्यक्रममा व्यस्त हुँदा भक्तजनलाई असहज भएको रामचन्द्र गुरुङ बताउँछन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा हरितालिका तीज, बाला चतुर्दशी र महाशिवरात्रिमा जत्तिकै भक्तजन आउने दिन हो । अन्तिम सोमबार अन्य सोमबारभन्दा बढी भक्तजन पशुपतिनाथको दर्शनका लागि आउँछन् । भक्तजनका लागि राम्रो व्यवस्थापन नगर्दा दर्शनमा समस्या भएको भक्तजनले गुनासो गरेका छन् । साउनका यसअघिका चारैवटा सोमबार पशुपतिनाथ मन्दिर आएर दर्शन गरिसकेकी सुविज्ञा रानामगर पाँचौँ सोमबार कोषले राम्रो व्यवस्थापन नगरेको र कोषका कर्मचारी र स्वयंसेवकले पनि विगतका सोमबार जति पशुपति क्षेत्रमा आज नदेखिएको गुनासो गर्छिन् ।

कोषका सदस्यसचिव डा मिलनकुमार थापाले साउनको सोमबार परेकाले कोष सञ्चालक परिषद् सदस्यले नेतृत्व गरेको संस्थाको कार्यक्रममा सबैलाई नजान निर्देशन दिएको जानकारी दिए । वनकाली उद्यानअघिको ढलको समस्या समाधानका लागि भोलिदेखि नै काम गर्ने उनको प्रतिबद्धता छ ।

घामले रोकेन भक्तजनलाई
साउनको टन्टालपुर घामले पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका भक्तजनलाई रोकेन । साउनको पाँचौँ एवं अन्तिम सोमबार आज बिहान सवा ३ बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । विगतका चार वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको कोषले जनाएको छ ।

साउनका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । चौँथो र आज पाँचौँ एवं अन्तिम सोमबार भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई तीन वटा सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन । यसैगरी चौँथो र पाँचौँ सोमबारको टन्टलापुर घामले पनि भक्तजन डगमगाएनन् । छाता ओढेर भए पनि भगवान्लाई शुद्ध जलसहित पूजा, आराधना एवं दर्शन गर्ने धोकोले भक्तजन लाममा बसेका छन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले ब्रत बस्ने गर्छन् । यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुली जानकारी दिन्छन् ।

साउनको सोमबार विशेष गरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैगरी अविवाहित महिलाले सुयोग्य बर प्राप्त गर्ने विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजा, आराधना एवं दर्शन गरेका भक्तजन पनि आज अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमै दर्शन एवं पूजा आराधना गर्ने उद्देश्यले आएका छन् । कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा धेरै भक्तजनको भीड लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७