माधव नेपालको पार्टीलाई ‘विशिष्ट रुपमा’ राखेर सीट बाँडफाँटको तयारी

सीट बाँडफाँट प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई


३० श्रावण २०७९, सोमबार
gathabandan karyadal

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई ‘विशिष्ट रुपमा’ राखेर गठबन्धन कार्यदलले सीट बाँडफाँटको तयारी अगाडि बढाएको छ ।

सत्तारुढ गठबन्धन कार्यादलको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई सीट बाँडफाँटका लागि आधार बनाउने सहमति गरेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘२०७४ सालमा प्राप्त मत, समानुपातिक मत र स्थानीय चुनावमा प्राप्त मतलाई सीट बाँडफाँटका लागि आधार बनाउने सहमति गरेका छौं’, बैठकपछि कार्कीले भने ।

यसआधारमा एकीकृत समाजवादीलाई सीट बाँडफाँट गर्न कठिनाइ देखिएको छ । ‘२०७४ सालको निर्वाचनमा एकीकृत समाजवादी त सहभागी थिएन’ कार्कीले भने, ‘माधव नेपालको पार्टीलाई विशिष्ट रुपमा राखेर सीट बाँडफाँड तय गर्छौं ।’
आजको बैठकमा धेरै विषयमा सहमति जुटेको उनको भनाइ छ । अब बुधबार बस्ने बैठकले केही निचोड निकाल्ने कार्कीले बताएका छन् । ‘फेरि बुधबार बैठक बस्छ, त्यसपछि केही नयाँ कुरा भनौला’, उनले भने । शीर्ष नेतालाई सहज हुने गरी कार्यदलकै तहमा धेरै विषय मिलाउने प्रयास भइरहेको उनको भनाइ छ। त्यसका लागि कार्यदलले गृहकार्य गरिरहेको कार्कीले बताए ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनले कार्यदल बनाएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलमा कांग्रेसका तीन र अन्य पार्टीका दुई-दुई जना सदस्य रहेका छन् ।

सिट बाँडफाँट प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई
सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बुधबार दिउँसो ४ बजे बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७