संसदमा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न हुँदैन : नेता खनाल


२०७९ श्रावण ३० सोमबार ०७:२७ बजे

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् ।

इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसदमा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताएका हुन् । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उनले अध्ययन गरेर मात्र धारणा बनाउने बताए । नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो भन्दै उनले अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिन नहुने बताए । उनले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझाव समेत दिए ।

जनसांख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्ने भन्दै उनले एक/दुई वटा दलले मात्र सिङ्गो देशलाई समेट्ने कुरामा लाग्न नहुनेमा जोड दिए । फरक प्रसङ्गमा उनले आफू सङ्घीय निर्वाचनमा इलामको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने जानकारी दिए ।

अहिले बाम गठबन्धनको सम्भावना नभएको र शीर्ष नेताले बाम गठबन्धन नचाहेको उनको भनाइ थियो । नेता खनालले यसअघि स्थानीय चुनावमा पनि देशमा पाँच दलीय गठबन्धन भएको र अब पनि सोही गठबन्धनले निरन्तरता पाउने बताए । साना दलसँग छलफल भइरहेको भन्दै नेता खनालले सबैलाई समेट्ने गरी अघि बढ्ने पनि धारणा राखे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७