सांसदको प्रश्न : राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?


३१ श्रावण २०७९, मंगलवार
samsad 1 scaled

काठमाडौं । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराए ।
विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसद लालबाबु यादवले गुनासो गरे । पाँचथरको रङ्गशाला निर्माणमा भइरहेको ढिलाईप्रति सांसद वसन्त नेम्वाङले तत्काल बजेटको प्रबन्ध गर्न माग गरे ।

सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गरिन् । उनीहरुले पुनः छलफल गरेर राष्ट्रिय सहमतिसहित नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह गरे ।

सांसद शक्तिबहादुर बस्नेतले चौरजहारी विमानस्थलमा नेपाल वायु सेवा निगमले दिँदै आएको हवाई सेवा बन्द भएकाले त्यसलाई पुनः सञ्चालनका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाई नभएको गुनासो गरे । सांसद सत्य पहाडीले प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउन माग गरिन् । सांसद डा सूर्य पाठकले बाग्लुङको निर्माणाधिन सडकमा निर्माण व्यवसायीले प्रभावकारी काम नगरेका कारण स्थानीयबासीले दुःख पाएकोमा आपत्ति जनाए ।

सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम शिघ्र सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद हितबहादुर तामाङले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि कुनै पनि योजना नहुँदा एक सय ७४ पटक सम्झौता भएपनि समस्या समाधान हुन नसकेकामा आपत्ति प्रकट गरे ।

सांसद हीरा गुरुङले पनि फोहर व्यवस्थापन हुन नसक्दा काठमडौँ उपत्यका दुर्गन्धित भएको पाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।
शून्य समयमा सांसदहरु सीताराम महत्तो, सरिताकुमारी गिरी, नारायण शर्मा खनाल, शिवमाया तुम्वाहाम्फे, विष्णु शर्मा, लालबहादुर थापा र लक्ष्मी परियारले विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७