काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै


३१ श्रावण २०७९, मंगलवार
dogs
सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु-चौपाया तथा मानिस समेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई हप्ताअघि भुम्लु गाउँपालिका-१ सापिङमा रेबिजबाट पशु-चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।सात दिनपछि दोस्रो मात्रा खोप लगाइने तयारी समेत भएको जनाइएको छ । प्राणघातक मानिएको सो रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली-६ मा गत वर्ष एकै महिनामा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो ।

दुई हप्ताअघि सापिङमा रेबिजबाट केही भैँसी र बाख्रा मरेकामा स्थानीयवासीले केहीलाई पुरेका े र केही काटेर खाएका कारण बाख्रा र भैँसीको मासु खाने छिमेकी टोलसमेतका व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए । ‘मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ”, उनले भने । कार्यालय प्रमुख डा. सेढाईंले हालसम्म मानिसमा कुनै लक्षण नदेखिएको तर खोपसहित निगरानीमा भने राखिएको बताए ।

उक्त गाउँमा एक महिनाअघि दुई कुकुर र केही बाख्रा मरेको जनाइएको छ । हाल केही स्थानीयवासीको भैँसीले र्‍याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । ‘त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु-चौपाया नखान आग्रह गरेका छौं’, केन्द्रप्रमुख पशु चिकित्सक राजकुमार हुमागाईंले भने । उनका अनुसार केही भैँसी बिरामी भएको खबर प्राप्त भएकाले पुनः आज पशु चिकित्सकको टोली त्यसतर्फ पठाइएको छ ।

यसअघि गत असार अन्तिम साता पनौती नगरपालिका-३ कुशादेवी सिमसारका १० जनालाई रेबिजविरुद्धको दुई मात्रा खोप लगाइएको थियो । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरुलाई घरमै निगरानी गरेको थियो । रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’ अनुसार खोप लगाइएको थियो ।

कुशादेवी स्वास्थ्य चौकीका प्रमुख प्रभुनारायण साहका अनुसार रेबिजका कारण गत असार २३ गते स्थानीय २३ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको थियो । उनका सम्पर्कमा आएकालाई घरमै निगरानीमा राखी दोस्रो खोप लगाइएको उनले बताए । यसैगरी करिब छ महिनाअघि भक्तपुरको पाण्डु बजारमा सापकोटालाई कुकुरले टोकेको थियो । कार्यालय प्रमुख डा सेढाईंले घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण रहिरहने देखिएको बताए । गत वर्ष चौँरीदेउराली गाउँपालिका-६मा कुकुरले टोकेका एक आठ वर्षीय बालक र दुई पुरुषको एक महिनापछि उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको माघमा धुलिखेल नगरपालिका-४ का २२ वर्षीय एक युवकको रेबिज रोगबाट मृत्यु भएको थियो । ती युवकले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखिएको थियो । युवकसहित मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजकै कारण २०७७ मङ्सिरमा धुलिखेल-४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेकोे थियो ।

एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण समेत गरेको थियो । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा त्यसबेला पनि रेबिजविरुद्ध दुई सयलाई भ्याक्सिन लगाइएको थियो ।

रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका प्रमुख नगर बनेपा, धुलिखेल र पनौतीमा गरेको सर्वेक्षणमा सात हजार पाँच सय सामुदायिक तथा छाडा कुकुर रहेको तथ्याङ्क सङ्कलन गरिएको थियो । तीमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरणसमेत गरिएको पशु चिकित्सक हुमागाईंले बताए । ‘बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिने योजना बनाएका छौं’, उनले भने ।

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा भ्याक्सिन राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको र्‍यालमा रेबिजको भाइरस हुने र तिनको टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्छ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालहरुबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७