सहकारी साहुकारी जस्ता बने : मन्त्री श्रेष्ठ


३१ श्रावण २०७९, मंगलवार
sahakar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी साहुकारी बनेको आरोप लगाएकी छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को स्थापना दिवसमा बोल्दै मन्त्री श्रेष्ठले सहकारी सिद्धान्त अनुसार सञ्चालन नभएको र संघहरूले काम गर्न नसकेको गुनासो गरिन् ।

सहकारी समाजिक कार्य तथा सामूहिक भावनामा सरिक नभएर साहुकारी भएको उनको भनाइ छ । उनले सहकारीबाट २३ प्रतिशत ऋण लिएको बताइन् ।‘’छुट दिएकाले यति भयो भनेर भनियो, सहकारीले बढी ऋण लिएका छन्’ मन्त्री श्रेष्ठले भनिन् । सहकारीमा धितो राख्न सहज भए पनि चर्को ब्याजका कारण सदस्यको जीवनस्तर उकासिन नसकेको मन्त्री श्रेष्ठले बताइन् । ‘सहकारीले बढी ऋण लिएर सदस्यको शोषण गरेको देखेको छु, भोगेको छु’ उनले भनिन् ।

नियामक निकायको भूमिका कमजोर बनाइएको मन्त्री श्रेष्ठले भनाइ छ । ‘नियामक निकायको भूमिका कमजोर हुँदा सहकारी समस्यामा परेका छन्,’ उनले भनिन्, ’अभियान र राज्य मिलेर सहकारीको शुद्धिकरणमा लाग्नुपर्छ ।’
सहकारीमा नयाँ खालका चुनौती र समस्या थपिएको मन्त्री श्रेष्ठले बताइन् । सहकारीलाई सिद्धान्त र मूल्य मान्यताभन्दा बाहिर नजान मन्त्री श्रेष्ठले चेतावनी दिइन् । सहकारी ऐन, नियमावली भएका सहकारी कर्जा सूचना केन्द्र, सहकारी ऋण असुली न्यायाधिकरण, स्थिरीकरण कोषलगायत कार्यान्वयन प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नगई मूल्यमान्यताविपरीत, सुशासनको वेवास्ता गरेकाले सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गएको उनले बताइन् । सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउन नसकी दोष अरूलाई देखाएर पन्छिने प्रवृत्ति गलत भएको बताइन् ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले राष्ट्रिय सहकारी महासंघसहित १६ वटा संघहरूले ५ प्रतिशत मात्र बचत फिर्ता गर्न र नगद लाभांस नबाड्न गरेको अपिलले भ्रम सिर्जना गरेको बताए। ’अभियानको विज्ञप्तिले अनर्थ लगाएको छ’, पण्डितले भने,’त्यसलाई स्पष्ट पार्न सहकारी विभागले छिट्टै निर्देशन जारी गर्दै छ ।’ मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारीले सदस्य केन्द्रित हुन नसक्दा सरकारको चिन्ता र चासो बढेको बताए । सहकारी स्वनियमनमा चल्नसके समस्या नआउने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७