हामी पनि गठबन्धनभित्रकै हौं : बाबुराम भट्टराई


३१ श्रावण २०७९, मंगलवार
prachanda baburam

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी प्रयोजनका लागि मात्रै नेकपा (माओवादी केन्द्र) सँग एकल चुनाव चिह्नमा जाने सहमति भएको स्पष्ट पारेका छन् ।

आज (मंगलबार) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महेन्द्र यादवसँगको छलफलपछि उनले चुनावी तालमेल मात्र भएको बताएका हुन् ।

‘तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्ला एक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले लिएका छौं’ उनले भने ।

त्यस्तै उनले आगामी दिनमा भने अग्रगामी शक्तिहरूबीच ध्रुवीकरण गरेर जाने पनि बताएका छन् । ‘तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौं । हाम्रो लक्ष्य चाहिँ आगामी दिनमा बृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ’, भट्टराईले भने । उनले आफ्नो पार्टी पनि गठबन्धनमा नै रहेको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७