दोरम्बा घटना मानवताविरोधी अपराध हो, दोषीले उन्मुक्ति पाउनु हुँदैन : वर्षमान


३१ श्रावण २०७९, मंगलवार
Barshaman Pun 15
फाइल तस्बिर

रामेछाप । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएको बताएका छन् । रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा ‘१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस’ मा आयोजित कार्यक्रममा उनले संक्रमणकालीन कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने बताए ।

सरकार-माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उनले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय समुदायले उतिबेलै युद्धबिराम सम्झौता उल्लंघन गरेर निसस्त्र अवस्थामा गिरफ्तारीपछि भएको दोरम्बा हत्याकाण्ड मानवताविरुद्धको अपराध भएको बताएको थियो । सैनिक जनरलहरुले पनि माथिको आदेश बिना भएको घटनामा गल्ती भएको हो भन्नु भएको छ,’ उनले भने ।

माओवादी र सरकारबीच दाङको हापुरेमा दोस्रो चरणको शान्ति वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाले तत्कालीन रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङसहित २१ माओवादी कार्यकर्तालाई निशस्त्र अवस्थामा नियन्त्रणमा लिएर सामूहिक हत्या गरेको थियो । आफूहरुले जनयुद्धका क्रममा जेनेभा महासन्धिको पूणर् पालना गरेको उनले बताए । उनले निहत्था अवस्थामा कब्जामा लिएका सेना र पहरीको कतै पनि हत्या नगरेको पुनले उल्लेख गरे ।

रोल्पाको होलेरी, रुकुमको राडी, सिन्धुलीको सिन्धुलीगढी, रुकुमको महतसहित दर्जनौं स्थानमा भएका भिडन्तमा निशस्त्र अवस्थामा नियन्त्रणमा लिएका प्रहरीलाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति र मानवअधिकारवादी संघसंस्थाको जिम्मा लगाइएको घटना उनले स्मरण गरेकाछन् ।

‘रुकुमको महतम चौकी कब्जा गर्ने क्रममा हामीले डीएसपी ठूले राईलाई नियन्त्रणमा लियौं । धेरै दिन मसँगै राखें । पछि हामीले राज्यलाई बुझायौं,’ उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि हामी सरकारमा गयौं । डीआईजी र एआईजी बढुवा हुने बेलामा सहयोग गर्‍यौं । अहिले पनि उहाँको हामीसँग राम्रै सम्बन्ध छ,’ उनले भने ।

शान्ति प्रक्रियाका नममा डलरका खेती गर्ने गिरोहले माओवादीलाई हत्यारा र आतंककारी करार गर्ने प्रयास गरिरहेको भन्दै पुनले आक्रोश पोखे । डलरवादीहरुले सेना समायोजन र संविधान निर्माण प्रक्रिया रोक्न गरेको व्यवसाय नेपालीहरुकै निणर्यमा असफल पारिएको भन्दै उनले शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको संक्रमणकालीन न्यायको काम पनि नेपालीकै निणर्यमा हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७