नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ


१ भाद्र २०७९, बुधबार
Jeevanram paryatanmantri
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।

नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे ।

नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्दै उनले ईयूले आफ्नो निणर्यबारे पुनर्विचार गर्ने बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यन्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्वन्धि निणर्य पुनर्विचार गर्नेछ ।

(ईयू) को हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताए । सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सवै जिम्मेवार हुनुपर्ने बताए । हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकोले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७