यो सरकार आएपछि प्राधिकरण बिजुली व्यापारमा सफल भयो : घिसिङ


१ भाद्र २०७९, बुधबार
Kulman Ghising

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् ।

आज (बुधवार) काठमाडौँमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए ।

घिसिङले भने, ‘प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौँ त्यति प्राधिकरणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट बिजुली उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ ।’

उनले भने, ‘आउँदा दिनमा प्राधिकरणको नाफाको ग्राफ अझै उकालो लाग्छ । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले बिजुली व्यापार गर्न सफल भएको छ । यो सुरुवात हो । आउँदा दिन धेरै राम्रो बन्दै जानेछ । बिजुली निर्यातको विषयमा चिन्ता गर्नुपर्दैन । प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने, कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रूपमा अगाडि बढाउने कुरामा गम्भीर हुनुपर्छ ।’

घिसिङले विद्युत् प्राधिकरणका कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । प्राधिकरणका कर्मचारीले बोनस लिने निणर्य नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने उनले स्मरण गरे । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलब खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताए । प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारेको उनको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले पछिल्लो पाँच वर्षभित्र झण्डै तीन गुणा बिजुली खपत बढाएको बताउनुभयो । उहाँले प्राधिकरणले पूर्वाधार विकासका साथै सबस्टेशन र ट्रान्समिसन लाइनहरू बनाएकाले पनि खपत बढेको बताए । प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने उनको भनाइ छ । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले बिजुली खपत बढाएर ऊर्जा क्षेत्रमा ठूलो फड्को मारको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७