नेकपा आफ्नो दावी गरेका ऋषि कट्टेललाई सर्वोच्चले दिएन अन्तरिम आदेश


१ भाद्र २०७९, बुधबार
sarbochha 1

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको आधिकारिकता खोसेका ऋषि कट्टेल आफै नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षबाट हटाइएपछि सर्वोच्च अदालत पुगेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको अधिकारिक व्यक्ति आफू भए पनि लोकनाराण सुवेदीका नाममा निर्वाचन आयोगले पार्टी अध्यावधिक गरेको भन्दै रिट निवेदन लिएर उनी सर्वोच्च पुगेका हुन् । उनले रिटमा आयोग र सुवेदीलाई विपक्षी बनाएका छन् ।

उनी पार्टीको आधिकारिकता आफूसँग रहेको भन्दै अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेका हुन् । सर्वोच्चले भने कारण देखाऊ आदेश मात्र जारी गरेको छ । अन्तरिम आदेशका लागि अर्को मिति तोकिएको छैन । तर, कारणसहित विपक्षीलाई अन्तरिम आदेशको छलफलमा बोलाउने निणर्य भएको कट्टेलले जानकारी दिएका छन् ।

कट्टेलको रिट बुधबार न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । कट्टेलका तर्फबाट प्रस्तुत भएका वकिलले २०७३ सालदेखि नेपाल कम्युनिष्ट पार्टी कट्टेलको अध्यक्षतामा दर्ता भएको र नेपाल कम्युनिष्ट पार्टीको नाम विवादको समयमा समेत सर्वोच्चले कट्टेलकै नाममा पार्टी कायम रहने गरी फैसला गरेको बताए । अहिले पनि पार्टीको आधिकारिक व्यक्ति कट्टेल नै कायम हुनुपर्ने उनले बताए । सुवेदीले फर्जी हस्ताक्षर संकलन गरेर उनकै अध्यक्षतामा पार्टी रहने गरी अध्यावधिक गराएको वकिलको जिकिर थियो ।

लोकनारायण पक्षले भने धेरैअघि कट्टेललाई पार्टीको अध्यक्षबाट हटाएको भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यति बेला मौन बसेका उनी निर्वाचन आयोगमा पार्टी अध्यावधिक भइसकेपछि आयोग समेतलाई विपक्षी बनाएर सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७